Thursday 18 May 2017

स्थानीय सरकार र मेयरको भूमिका

स्थानीय सरकार र मेयरको भूमिका


"मेयरको भूमिकामा सफल हुन कुनै विषयको दक्षता र अनुभव सहयोगी त होला तर नभई नहुने चाहीं होइन। मेयरको भूमिका प्रभावकारीताका साथ निभाउन अत्यावश्यक गुण भनेको नेतृत्व क्षमता हो। उनले अरु निर्वाचित प्रतिनिधिका साथ साथै नगरपालिकाका कर्माचारी, विज्ञ र सल्लाहकारहरु लाई नेतृत्व प्रदान गर्नु पर्ने हुन्छ।"

An edited version of this blog was published in Setopati on 9 May 2017 http://setopati.com/blog/68962/

२० वर्ष पछि हुन लागेको स्थानीय निकायको चुनावको पूर्व सन्ध्यामा स्थानीय सरकारको संरचना र स्थानीय निकायसंग सम्बन्धित केहि महत्वपुर्ण पक्षहरु यस लेख द्वारा चुनावी उम्मेदवार र मतदाता समक्ष प्रस्तुत गर्ने जमर्को गरिएको छ।

स्थानीय सरकार को भूमिका र कार्यक्षेत्र
जनताले लोकतन्त्रको प्रतिफल प्राप्ति गर्ने र लोकतन्त्रमा प्रत्यक्ष सहभागी हुने एक मात्र द्वार नै स्थानीय सरकार हो। स्थानीय सरकार राज्यको पहुँच र विकाशको प्रतिफल सर्व साधारणको घर दैलो सम्म पुर्याउने माध्यम हो।

स्थानीय निकायका निर्वाचित प्रतिनिधि राज्यको विकेन्द्रीकरणका सम्बाहक हुन्। लोकतान्त्रिक विधि अनुरुप बढि भन्दा बढि जनता सम्म राज्यको उपस्थिति जनाउनु तेस्ता प्रतिनिधिहरुको प्रमुख दाइत्व हो। स्थानीय निकायका निर्वाचित प्रतिनिधिहरुको आफ्नो निकायको व्यवस्थापन गर्नुका साथ साथै विकासका लागि आवश्यक निर्णय गर्ने र केन्द्रिय तथा प्रान्तीय सरकार संग समन्वय गर्ने दोहोरो र महत्वपूर्ण भूमिका हुन्छ।

लोकतन्त्रको संस्थागत विकाश बलियो स्थानीय निकाय बिना असम्भव हुन्छ। स्थानीय निकायले नागरिक र राज्यका अन्य संयन्त्र विच लोकतान्त्रिक सेतुको भूमिका सहि रुपमा निभाएका समाजमा लोकतन्त्र बलियो, संस्थागत र सफल भएको देखिन्छ।

स्थानीय निकायले गर्ने निर्णयहरु र त्यस संग सम्बन्धित कार्यान्वयनका पक्षहरु सर्व-साधारण जनताको दैनिक जीवन संग प्रत्यक्ष गाँसिएको हुन्छ। त्यस्तै सर्व-साधारण जनताका आवश्यकताहरु परिपूर्ति गर्न स्थानीय निकायको प्रभावकारी भूमिका रहन्छ।  

एक्काइसौं शताब्दिको आजको विश्वमा कुनै पनि देश विकशित मुलुकका रुपमा दरिन ठूला संरचना र पूर्वाधार भन्दा पनि सर्व-साधारणका दैनिक जीवन गुजाराका लागि चाहिने आधारभूत आवश्यकताहरु कुन हद सम्म सर्व-शुलभ रुपमा उपलब्ध छ भन्ने कुराले बढि महत्व राखेको देखिन्छ। विकशित समाजका अपरिहार्य सूचक यिनै आधारभूत आवश्यकताहरु तथा सेवा सुविधा राज्यको तल्लो निकाय सम्म सुनिश्चित गर्नु स्थानीय निकायको प्रमुख कार्य क्षेत्र हो।

नगरपालिकाको हकमा सहरको निर्माण विकाशका लागि आवश्यक पूर्वाधार सुनिस्चित गर्ने तथा दिर्घकालिन विकास संग सम्बन्धित स्थानिय तहमा गर्नु पर्ने निर्णय, बनाउन पर्ने योजना र तेसको कार्यन्वयन गर्ने प्रमुख निकाय स्थानीय सरकार हो। सहरी विकाशका साथ साथै स्थानीय निकायका लोकतान्त्रिक तथा सेवा मुलक अरु थुप्रै कार्य क्षेत्र हुन्छन्।

मैले अनुभव गरेको स्थानीय सरकार
१२ वर्षको न्यु जिल्याण्ड बसाई र ९ वर्ष यहाँको स्थानीय निकायमा रही सहरी विकाशमा काम गर्ने क्रममा अनुभव गरेका स्थानीय सरकारको सकारात्मक र प्रभावकारी अनुभवका केहि उदाहरण यहाँ उल्लेख गर्न सान्दर्भिक होला।

नेपाल र न्यु जिल्याण्डको भू-राजनैतिक र सामाजिक पृष्ठभुमि भिन्न भए पनि आकार र जनसंख्याका अधारमा यि दुवै देश तुलनात्मक रुपमा मध्यम-साना मुलुक हुन्। ट्रान्सपारेन्सी इन्टरनेसनल को सन् २०१६ को रिपोर्ट अनुसार न्यु जिल्याण्ड संसारमा सबै भन्दा कम भ्रस्टाचार हुने मुलुक हरुको सुचिमा दोस्रो स्थानमा मा पर्छ। स्थानीय सरकार, लोकतन्त्र र परोपकारी समाजको संसार भरिमै एक उत्कृस्ट प्रयोग गरिरहेको न्यु जिल्याण्ड जस्तो देश बाट नेपाली राजनीति र समाजले सिक्ने धेरै ठाउँ हरु छन्।

न्यु जिल्याण्डका स्थानीय सरकार लाई यहाँ काउन्सिल (Local Council) भनिन्छ। राज्यमा स्थानीय निकायको स्थान र तेस्को कार्य क्षेत्र कानुनि रुपमा स्पष्ट उल्लेख रहेको छ। स्थानीय स्तरमा जनतासंग सरोकार हुने निर्णयहरु गर्नु अगाडी जन सहभागिता सुनिस्चित गर्ने जिम्मेवारी र कर्तब्य पुरा गर्न काउन्सिल हरुले निरन्तर मिहेनत गरेको देखिन्छ।

काउन्सिल हरुले स्थानीय तहमा घर जग्गा कर संकलन गरी आफ्ना क्षेत्रका जनताहरु लाई सेवा सुविधा प्रदान गर्न सो करको परिचालन गर्छन्। निर्माण विकाशको अनुमति दिने देखि टोल वडाका बाटो घाटो बनाउने र मर्मत सम्हार गर्ने; फोहरमैला व्यवस्थापन गर्ने देखि खाने पानी वितरण गर्ने; पुस्तकालय स्थापना र संचालन देखि बाल बालिकाहरु खेल्ने पार्कहरुको निर्माण, संरक्षण र व्यवस्थापन गर्ने काम यहाँ स्थानीय निकायले नै गर्छन्।

स्थानीय जनता संग सरोकार राख्ने र स्थानीय निकायले दिने सेवा सुविधाको एउटा राम्रो उदाहरणको रुपमा कम्युनिटी सेन्टर (community centre) लाई लिन सकिन्छ। प्रत्येक वडा (suburb) हरुमा कम्तिमा एउटा कम्युनिटी सेन्टर अवस्थित रहेको पाइन्छ। कम्युनिटी सेन्टर हरुमा स्थानीय जनताले स्थानीय स्तरमा प्राप्त गर्न सक्ने सेवाहरु उपलब्ध हुनुका साथ साथै यस्ता सेन्टर सर्व साधारणले सामाजिक कार्यका लागि उपभोग पनि गर्न पाउछन्। कम्युनिटी सेन्टर लाई त्यस वडाको "सामाजिक मिलन विन्दु" (community hub) को रुपमा ब्याख्या गर्न सकिन्छ। स्थानीय निकायले कम्युनिटी सेन्टर हरु दिगो रुपमा संचालन गर्न आवश्यक व्यवस्थापन गर्छन् र केहि मात्रामा आर्थिक अनुदान पनि दिन्छन्। कम्युनिटी सेन्टर संचालनका लागि स्थानीय जनताको प्रत्यक्ष सहभागिता जुटाउने र आर्थिक श्रोत जुटाउने जस्ता कार्यको सहजकर्ताको भूमिकामा पनि स्थानीय निकाय निकै सक्रिय हुन्छन्।

स्थानीय निकायहरु आफैमा निकै व्यवस्थित र सेवामूलक भएको पाइन्छ। यि सब कुराहरुको उचित व्यवस्थापन संभब हुनमा स्थानीय निकायसँग आफ्नो वडाका वासिन्दा लगायत यावत् कुराहरुको गुणस्तरीय तथ्यांक हुनु र तिनको सुचना प्रविधि द्वारा प्रभावकारी प्रयोग गर्न सक्नु एक प्रमुख कारण हो। जनसंख्या (demographic) देखि भौगोलिक सुचना (Geographic Information System, GIS) सम्बन्धि डेटाबेस हरुलाई निकै महत्वका साथ संकलन र प्रयोग गर्ने गरेको देखिन्छ। यस प्रकारको भरपर्दो डेटाबेस (database) उपलब्ध हुने हुनाले त्यसको प्रभावकारी प्रयोग गरि स्थानीय निकाय छीटो छरितो रुपमा स्थानीय जनताको आवश्यकता आकलन र श्रोत परिचालन गर्ने गरेको पाइन्छ। त्यस्तै कुनै दैवी प्रकोप र बिपद आइपरेको खण्डमा छिटो भन्दा छिटो उद्दार कार्य गर्ने र उचित व्यवस्थापन गर्न पनि डेटाबेसको निकै ठूलो प्रयोग गरेको देखिन्छ।

तथ्यांक र सुचना प्रविधिको अर्को प्रभबकारी प्रयोग निर्वाचनमा हुने गरेको देखिन्छ। निर्वाचनको प्रचार प्रशार देखी लिएर मत दिने काम सम्म घर-घरै बाट गर्न सकिने सुविधा प्रदान गरिएको हुन्छ। त्यस्तै मतदाताले चाहेमा आफ्नो मतपत्र हुलाक मार्फत मत खसाल्ने दिन भन्दा एक महिना अगाडी पठाउन सकिन्छ । सुचना प्रविधिको प्रयोग चुनावमा मात्र नभै समुदायिक संरचनाहरुको व्यवस्थापन र विकाश गर्न पनि उपयोग गरेको पाइन्छ। सामुदायिक पार्क र भवनहरु को निर्माण गर्दा ति संरचना हरुले गर्ने प्रत्यक्ष फाइदाहरु को मुल्यान्कन गर्न डेटाबेसको उपयोग भएको पाइन्छ। यसका साथै स्थानीय निकायका संरचनाहरुको दस्ताबेज राख्न तथा तिनीहरुको संरक्षण र सही उपयोगका लागि पनि तथ्यांक हुनु र तिनको सुचना प्रविधिको निक्कै प्रभावकारि उपयोग गरेको पाईन्छ।

मेयरको कार्यक्षेत्र र भूमिका
स्थानीय निकायका निर्वाचित प्रतिनिधिहरुको तिन प्रमुख भूमिका हुन्छ:
१. स्थानीय तहमा सरकारको प्रतिनिधित्व गर्ने (governance function),
२. स्थानीय तहमा नेतृत्व प्रदान गर्ने (leadership function ), र
३. स्थानीय तहमा गरिने निर्णयहरुको सहजीकरण गर्ने (facilitation of the decision making function)।

यि तिनै भूमिका प्रभावकारी रुपमा निर्वाह गर्नका लागि नगरपालिकाको हकमा मेयरले नेतृत्वदाई र अभिबावकीय भूमिका निभाउछन्। उनले स्थानीय निकाय निर्वाचन द्वारा जनताले चुनेका प्रतिनिधिहरुको मातहतमा बन्ने निर्णायक स्वरुपहरु (decision making bodies) को सभापतित्व गर्छन्। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नगरपालिकाको निर्वाचित प्रतिनिधि मेयर हुन्छन् ।

मेयर नगरपालिकाको दिनानुदिन व्यवस्थापक होइनन्। यो काम नगरपालिकाका प्रशाशनले गर्छन्। प्रशाशनका साथ साथै नगरपालिकाको आकार र श्रोत हेरि उनका विषय विशेष सल्लाहकार (advisors) हुन सक्छन्। प्रशाशन तथा सल्लाहकारको टिम लाई प्रमुख कार्यकारी (CEO) ले नेतृत्व गर्छन्। नगरपालिकाको निर्वाचित प्रतिनिधिहरुले प्रशाशन तथा सल्लाहकार बाट सुझाव (advice) लिन्छन र लोकतान्त्रिक विधि प्रयोग गरि नागरिकहरुको हितमा निर्णय गर्छन्।

मेयरको भूमिकामा सफल हुन कुनै विषयको दक्षता र अनुभव सहयोगी त होला तर नभई नहुने चाहीं होइन। मेयरको भूमिका प्रभावकारीताका साथ निभाउन अत्यावश्यक गुण भनेको नेतृत्व क्षमता हो। उनले अरु निर्वाचित प्रतिनिधिका साथ साथै नगरपालिकाका कर्माचारी, विज्ञ र सल्लाहकारहरु लाई नेतृत्व प्रदान गर्नु पर्ने हुन्छ।

नेतृत्व क्षमता अन्तर्गत सफल मेयरमा विषम परिस्थितिमा पनि जटिल समस्याहरु छिटो भन्दा छिटो विस्लेषण गर्ने, समस्याका विच विचलित नभई अवसर पहिचान गर्ने, र यी सबका वाबजुद जनमुखी निर्णय गर्ने कुशलता हुन जरुरी हुन्छ।

समन्वयकारी भूमिका प्रभावकारी रुपमा निभाउन सक्नु एक सफल मेयर मा हुन पर्ने अर्को प्रमुख गुण हो। सबैलाई संगै लैजान सक्ने क्षमता राख्नु र राज्यका विभिन्न निकाय (केन्द्रिय सरकार देखि स्थानीय जनता सम्म) संग समन्वय गर्न सक्ने कलामा पोख्त हुनु उनको आवश्यकता हो।

सहरको नेताको रुपमा मेयरसंग सहरको विकाशको स्पस्ट दिर्घकालिन अवधारणा (vision) नभएको खण्डमा दैनिक आउने चुनौतीका विच उनि छिट्टै कुहिरोको काग बन्न सक्ने प्रबल सम्भावना रहन्छ। आफ्नो दुर दृस्टी लाई सर्व-साधारणको आवश्यकता र अपेक्षा संग तालमेल हुने गरि प्रस्तुत गर्ने कलामा पोख्त हुनु त उनका नभै नहुने गुण हुन्। अवधारणा का साथ साथै मेयर र उनको टिमसंग तेसलाई व्यवाहारमा उतार्न आवश्यक छोटो, मध्यम र दिर्घकालिन योजना तर्जुमा गर्ने क्षमता साथै योजना कार्यान्वयन गर्ने सिप, उर्जा, साहस र दृढ अठोट हुनु अपरिहार्य हुन्छ।

मेयरका उम्मेदवार कुनै राजनैतिक पार्टीसंग आवद्द हुन सक्लान् तर चुनाव जिते पछि भने उनले आफ्नो राजनैतिक आस्था र पार्टीगत स्वार्थ भन्दा माथि उठि आफ्नो नेतृत्वको दाइरा फराकिलो पर्न सक्नै पर्छ। उनलाई यसको र उसको नेता अथवा कार्यकर्ता हुने छुट हुँदैन। उनि सबैका मेयर बन्न सक्नु पर्छ।

अबको चुनैती र अवसर
नेपालको विगत २० वर्षको राजनैतिक तरलताले गर्दा देश दुई दशक स्थानीय सरकार विहिन परिस्थिति बाट गुज्रिन पुग्यो। यि दुई दशक निर्वाचित प्रतिनिधिको सट्टामा कर्मचारीहरु स्थानीय तहका निर्णयकर्ताको भूमिकामा रहे। निर्वाचन नभएको र स्थानीय तह प्रतिनिधि विहिन हुन पुगेको अवस्थामा कर्मचारीतन्त्र स्थानीय निकायमा व्यवहारिक समाधानको रुपमा स्थापित हुन पुग्यो दुई दशक स्थानीय निकायमा वहाँहरुले गर्नु भएको सेवाको लागि कर्मचारीहरु प्रति हामी कृतज्ञ हुनै पर्छ।

यति भन्दा भन्दै हामीले के चाहिं बुझ्न जरुरी छ भने निर्वाचित प्रतिनिधि मतदाता प्रति उत्तरदायी हुन्छन् भने कर्मचारीको उत्तर्दायित्व उनका हाकिम र काम गर्ने संस्था प्रति रहन्छ।

अब हुन लागेको स्थानीय निकाय चुनावका निर्वाचित प्रतिनिधिहरुका अगाडी निर्वाचन पश्चात कर्मचारीतन्त्र विस्थापित गरि सबैको सोच स्थानिय सरकारको अवधारणा तिर प्रतिस्थापन गर्नु ठूलो चुनौतिको रुपमा खडा हुने देखिन्छ। यो चुनौती चिर्न र मेयर जस्तो निर्वाचित प्रतिनिधिको भूमिकाको अवसरमा सफल हुन भने विषयको दक्षता भन्दा नेतृत्व क्षमता अत्यावश्यक हुने छ।

मतदाताका लागी भने यहि आउँदो आइतवार हुन लागेको चुनाव हाम्रा नभई राम्रा उम्मेदवार लाई मत दीई स्थानीय सरकारमा योग्य प्रतिनिधि चुन्ने सुनौलो अवसर हो। यो अवसरको विवेकशील प्रयोगले मात्र हाम्रो सुनौलो भविश्य सुनिस्चित हुनेमा कुनै संका छैन।

विगतमा कसलाई भोट दिइयो र परिवारका अरु सदस्यहरुले के मा छाप लगाए भन्ने जस्ता आधारमै मात्र मतदान केन्द्र जाने हो भने, तेस्तो कार्यले मत पेटिकामा स्वास्तिका छापको दाग त लाग्ला, तर त्यो स्व-विवेक प्रयोग गरिएको मत भने हुन सक्दैन।

जनताले स्थानीय सरकारको नेतृत्व छान्ने बेला विवेक प्रयोग गरेमा र निर्वाचित प्रतिनिधिले इमान्दारीताका कर्तब्य निभाएमा मात्र नेपाली समाज विकाशको पथ तिर तिब्र गतिमा उन्मुख हुने छ।

आशा गरौँ आउँदो आइतवार मतदाताले लोकतन्त्र द्वारा सुनिस्चित आफ्नो मताधिकारको सहि उपयोग गर्ने छन्। त्येसो भएमा मात्रै आउँदा दिनमा अब्बल उम्मेदवारले स्थानीय सरकारको प्रतिनिधित्व गर्ने छन्। अनि सहि नेतृत्वले लोकतान्त्रिक पद्दतिको मातहातमा जनतालाई विकाशको अनुभव गराउन सफल हुने छन्।  

(राज महर्जन न्यु जिल्याण्डको सबै भन्दा ठूलो स्थानीय निकाय अक्ल्यांड काउन्सिलमा विगत ८ वर्ष देखि सहरी विकाशमा कार्यरत छन्। लेखनमा सुनिल ढकाल, अमित भण्डारी, दिपक चौहान र सरोज नेपालको सल्लाह र सुझावको लागि हार्दिक धन्यवाद।)
*****



No comments:

Post a Comment