Sunday 19 April 2020

ब्यबस्थित सहर निर्माणको सुरुवात कहाँ बाट कसरी गर्ने?

धुलो, धुवाँ, खाल्टा, खुल्टी त काठमाडौँ वासी ले पचाई सकेका हुन्। टोल छिमेक अस्त ब्यस्त त भई नै सक्यो। अब त बस्ती नै डुब्न थाल्यो। सहर हामीले यस्तो बनाई सक्यौ कि समाधानका बाटा निक्कै जटिल र लामा हुने वाला छन्। यो लेख समाधानका उपायहरु मध्येको आंशिक छलफलको प्रयाश हो।

वर्षामा खोला नालाको बहाव बढ्छ। तिनका सतह माथि उठ्छन। यो प्राकृतिक नियम हो। हनुमन्ते खोला उर्लेर भक्तपुरका बस्ति डुबेको यसको समसामयिक प्रतिनिधि मुलक उदाहरण हो। बाढीको बहाव रोक्न सकिन्न, तर बस्ति भने व्यवस्थापन गर्न सकिन्छ। बाढी बाट हुन सक्ने जन धनको क्षति रोक्ने हो भने खोला छेउ डुबान प्रकोपको खतरा भएका स्थानमा बस्ति बसाल्न निषेध नै गर्नु पर्छ।

कुन जग्गा डुबान बाट खतरा मुक्त छ भन्ने कसरी थाहा हुन्छ? कुनै बेला खोला बगेकै जमिन माथि नै घर बनाउन अघि त खतराको घन्टी बज्नु पर्ने हो। त्यस्ता ठाउँ असुरक्षित हुन् भन्ने ठम्याउन अन्तरिक्ष विज्ञानको ज्ञाता हुन पर्दैन। यस्सो सर-सर्ति हेरेरै धेरै भन्न सकिन्छ। डुबानको प्रकोपको खतरा हुन सक्ने ठाउँ पहिचान गर्दा १०० वर्ष मा एक पल्ट आउन सक्ने बाढी को प्रकोपको सम्म विचार गर्नु पर्ने हुन्छ। त्यस्तै सामान्यत: खोलाको दायाँ बायाँ २० मीटर जमिन डुबान प्रकोपका दृष्टिले अतिनै संवेदनशील हुन्छन्। यस्ता मापदण्ड हामीले प्रयोगमा ल्याउनु आवश्यक छ। यस्ता प्रकोपको खतरा हुन सक्ने कोरिडोरमा बस्ति मात्र होइन कुनै भौतिक संरचना पनि सुरक्षित हुन्नन्।

काठमाडौँ उपत्यकाको बढ्दो सहरीकरण ब्यवस्थापनका लागी क्षेत्र निर्धारणको एक खाका 


बाढी आउदा डुब्ने जग्गा मानव बस्तीको निम्ति अयोग्य हुन्। मानव बस्तीको निम्ति योग्य र अयोग्य ठाउँको निर्धारण गर्न सक्नु व्यवस्थित शहरीकरण विधाको प्राथमिक धर्म हो। त्यस पछि मात्र सहर व्यवस्थापनका अरु आयाम तिर अघि बढ्न सकिएला। व्यवस्थित बस्ति बसाल्ने हो भने सबै भन्दा पहिलो काम कुन प्रयोजन का लागी कुन ठाउँको जग्गा प्रयोग गर्ने हो त्यो छुट्याउनु पर्ने हुन्छ। यसलाई क्षेत्र निर्धारण (zoning) भन्न सकिन्छ। क्षेत्र निर्धारण नगरी ब्यबस्थित शहरको परिकल्पना सम्भव हुन्न।

ग्राफिक्स: काठमाडौँ उपत्यकाको बढ्दो सहरीकरण: हिजो, आज र भोली
श्रोत: Thapa, RB and Murayama Y (2012), "Scenario based urban growth allocation in Kathmandu Valley, Nepal", Landscape and Urban Planning 105: 140-148.

यसरी क्षेत्र निर्धारण गरे पछि प्रत्येक क्षेत्र भित्रको जग्गाको भोग चलन कसरि गर्ने हो, त्यस सम्बन्धि नीति नियम प्रयोगमा ल्याउन पर्ने हुन्छ। यस्ता नीति नियमले ति क्षेत्र भित्र भौतिक संरचनाको निर्माण वा जग्गाको अरु उपभोग बारे स्पष्ट रुपमा मार्गनिर्देश गर्छ।

उदाहरणका लागी काठमाडौँ उपत्यकाको क्षेत्र निर्धारणको प्रारूप यस्तो हुन सक्छ।

१. प्रमुख बस्ति क्षेत्र - प्राकृतिक प्रकोपको न्यून खतरा रहेका बानेश्वर जस्ता ठाउँमा बाक्लो बस्ति बसाल्न योग्य जग्गा यि क्षेत्रमा पर्छन्। सहरका अधिकांश जनता यस्तै बस्तीमा बसोबास गर्छन्। यहाँ सानो ठाँउमै बाक्लो बस्ति हुने हुनाले खुल्ला ठाँउ र अरु भौतिक संरचना त्यहि अनुसार व्यवस्था गरिएको हुन्छ। घरहरु कति अग्लो र दुई घर बीच कति खालि जग्गा हुनु पर्ने जस्ता मापदण्ड यहाँ कडाईका साथ लागु हुन्छ।

२. ब्यापार क्षेत्र - असन र इन्द्रचोक जस्ता ठाउँको बाटो छेउको जग्गा यि क्षेत्रमा पर्छन। यहाँको जग्गाको भोग चलनको व्यवस्था ब्यापार मैत्री हुन्छ। यो क्षेत्र वरिपरिको जग्गाको उपभोग गर्दा ब्यापारमा प्रतिकुल असर नपुग्ने गरि गर्नु पर्ने हुन्छ।

३. खुल्ला स्थान क्षेत्र - ठूला तथा साना पार्कहरु यस क्षेत्र अन्तर्गत आउछन्। यिनको प्रयोग र यहाँ भित्र हुने गतिविधि सार्वजनिक हितको उदेश्य अनुसार निर्देशित हुन्छन्।

४. संबेदनशिल क्षेत्र - यि रक्षा तथा प्रशाशनिक रुपमा संबेदनशील जग्गा हुन्। जस्तै: त्रिभुवन विमानस्थल, सिंह दरबार र अरु सरकारी कार्यालय भएका जग्गा। यि जग्गा निरन्तर सार्वजानिक स्वामित्वमा रहन्छन्।

५. सांस्कृतिक महत्व क्षेत्र - मठ, मन्दिर, गुम्बा तथा दरबार स्क्वायर जस्ता ठाँउ यो क्षेत्र भित्र पर्छन्। यि सार्वजनिक महत्वका स्थानका रुपमा सम्वर्धन गरिन्छन्। यस्ता क्षेत्र भित्र वा यिनका वरिपरि भौतिक संरचना निर्माण कार्य गर्दा ति सांस्कृतिक महत्वका स्थान लाई प्रतिकुल असर पर्न नदिने गरि गर्नु पर्ने हुन्छ।

६. गैर-सहरी क्षेत्र - बाहिरी रिंग रोड भन्दा पारिका जग्गा गैर-सहरी क्षेत्र मा पर्छन। यहाँ ग्रामिण जीवन शैली प्रोत्साहन गरिएको हुन्छ। गैर-सहरी क्षेत्र अन्तर्गत कृषि उत्पादन योग्य जग्गा सुरक्षित गरिन्छ।

माथिका बाहेक ठाउँ अनुसार, आवश्यकता अनुरुप अरु क्षेत्र वा उप-क्षेत्र थप हुन सक्छन्। जस्तै बस्ति क्षेत्र अन्तर्गत बाक्लो बस्ति, पातलो बस्ति वा मिश्रित बस्ति क्षेत्र हुन सक्छन्। त्यस्तै, चितवनमा राजमार्ग क्षेत्र वा निकुञ्ज क्षेत्र हुन सक्छन्।

क्षेत्र निर्धारण व्यवस्थित शहर निर्माणको एउटा प्राविधिक पाटो मात्र हो। समाजका सबै अंग सहि रुपमा चले मात्र सहर ब्यबस्थित, स्वस्थ र सफल हुन्छ। नेपालको सन्दर्भमा हालको अवस्थामा केहि गर्नु अघि निक्कै काम कुरो चाहिं नगर्न पर्ने वा गर्न रक्नु पर्ने देखिन्छ। सबै भन्दा पहिला हालको सहरको अवस्था अझै अरु बिग्रन रोक्नु पर्ने आवश्यकता छ। त्यसपछि ब्यवस्थित गर्ने पहलको पहिलो प्रयाशको रुपमा चाहिं क्षेत्र निर्धारण ठोस रुपमा ब्याख्या र तिनको प्रभावकारी कार्यान्वयन हुन अति आवश्यक छ।

(राज महर्जन सन् २००७ देखि सहरी विकाशमा कार्यरत छन् https://www.linkedin.com/in/rajmaharjan1/)

No comments:

Post a Comment