Thursday 7 May 2020

कोविड, नेपाल सरकार, नेपाली दूतावास र गैर आवासीय नेपाली संघ - भूमिका, जिम्मेवारी र उत्तरदायित्व: एक विश्लेषण

प्रमुख विषयवस्तुमा प्रवेश गर्नु अघि प्रस्ट पार्न चाहें। म एक नेपाली हुं। गैर आवासीय नेपाली संघ मेरो पनि संस्था हो। नेपाली भएको नाताले नेपाल सरकार र दूतावास मेरो पनि सरकार र दूतावास हो। सरकार, दूतावास र गैर आवासीय नेपाली संघले गरेका राम्रो कुराहरुको म प्रशंसा गर्न चाहन्छु। तर शिष्ट भाषामा कमि कमजोरी औल्याउनु मेरो नागरिक दायित्व र नैसर्गिक अधिकार हाे।

अब विषय वस्तु तिर।

कोविड महामारी पश्चात गैर आवासीय नेपाली संघ नेपाल सरकार र प्रवासमा रहनु हुने नेपाली विच सेतु मात्र नभई प्रमुख र एक मात्र भरपर्दो संचारको माध्याम हुन आएको प्रस्ट भएको छ।

यस मामिलामा गैर आवासीय नेपाली संघले प्रवासी नेपालीहरुलाई नेपाल सरकार र दूतावाससँग निरन्तर सम्पर्कमा राख्न र सूचना तथा जानकारी आदान प्रदान गर्न जारी राखेको पहल सह्रानीय छ। विगत केही हप्ता देखि गैर आवासीय नेपाली संघका धेरै साथीहरु जानी नजानी नेपाल सरकारको र नेपाली दूतावासहरुको अनौपचारिक "सम्वाहक" बन्न पुग्नु भएको छ।

यसै परिप्रेक्ष्यमा हाल जारी नेपाल सरकार र गैर आवासीय नेपाली संघ माझको यो नौलो र गहिरो सम्बन्धले निम्ताएका केही सवालहरु र भोलि उत्पन्न हुन सक्ने केही परिस्थितिहरु यस लेख मार्फत विश्लेषण गर्न खोजिएको छ।

१. दूतावासको भूमिका, दायित्व र कार्य सम्पादन क्षमता

प्रवासमा सरकारको औपचारिक र कूटनीतिक उपस्थिति भनेको दूतावास हो। नेपाल सरकारको प्रवासका जनतासँग सम्पर्कमा रहने औपचारिक माध्यम विदेशमा अवस्थित नेपाली दूतावासहरु हुन्। तर, कोविड महामारी पछि सरकार र दूतावासहरु आफ्नो यस प्रमुख दायित्वमा फितलो देखिए भन्दा बढी बोले जस्तो अथवा अन्याय नहोला। हुन त हाम्रा दूतावासहरुमा कोविड अगाडि समस्या नभएका होइनन्। कर्मचारी सीमित, समस्या असीमित - हाम्रा दूतावासहरुको कहिल्यै निको नहुने पुरानो रोग हो।

उदाहरणका लागि क्यानबेराको दूतावासमा राहदानी नवीकरणका लागि निवेदन दिने जो कोहीलाई सोध्नुहोस्। त्यहाँ न फोन बेलामा उठ्छ, न त इमेल को जवाफ समयमा आउँछ। त्यहाँ कर्मचारी यति सीमित छन् कि वहाँहरुलाई कार्य सम्पादन गर्न हम्मे हम्मे हुने रहेछ। सर्वसाधारणलाई क्यानबेरा दूतावाससँग सम्पर्क गर्न महाभारत नै छ। हाम्रा सबै दूतावासहरुको लगभग अवस्था उस्तै-उस्तै हो। कोविड महामारी पश्चात हाम्रा दूतावासहरुको असक्षमता छताछुल्ल भएर फेरि एक पटक घाम झैँ छर्लंग भएको मात्र हो। समस्या पुरानै क्यान्सर हो।

२. गैर आवासीय नेपाली संघको प्रमुख दायित्व

गैर आवासीय नेपाली संघको विधान २००३ (२०१७ संशोधन सहित) परिच्छेद-३ मा संघको उदेश्यहरु उल्लेखित छन्।जानकारीका लागि संघको विधानको परिच्छेद-३ को प्रति यहाँ उपलब्ध गराइएको छ। गैर आवासीय नेपाली संघलाई लिएर धेरैको रङ्ग बिरङ्गका बुझाई, आशा र गलतफहमी छन्। संघको खास काम चाहिँ के हो? उसको प्रमुख उत्तरदायित्व कसमा निहित छ? यी र यस्तै प्रश्नका बुझाई दुई जनाको गफ माझ चार किसिमका होलान्। आधिकारिक रुपमा जाने हो भने हामीले विधान केलाउनु पर्ने हुन्छ। मेरो बुझाईमा गैर आवासीय नेपाली संघको प्रमुख दायित्वको मर्म विधानको उदेश्यहरुले प्रस्ट समेटेको छ। त्यस अनुसार उसको प्रमुख दायित्व प्रवासी नेपली प्रति छ। त्यस्तै कुनै पनि संस्थाको पहिलो दायित्व भनेको तिनका सदस्यहरु प्रति उत्तरदायी हुनु हो। यो गैर आवासीय नेपाली संघमा पनि लागु हुन्छ त भनिरहनु नै परेन।

गैर आवासीय नेपाली संघको विधानको परिच्छेद -३ 

३. उत्तरदायित्व कसको?

माथि उल्लेख गरिए झैँ सरकार र दूतावास हाल केही हप्ता देखि गैर आवासीय नेपाली संघको संजाल प्रयोग गरी आफ्ना सूचना तथा जानकारी प्रवासी नेपलीहरु माझ आदान प्रदान गर्दै छ। यसरी लामो अवधि सम्म निरन्तर सरकार र दूतावासको सञ्चार सम्वाहक बनी उसको लागि कार्य सम्पादन गरिरहनु के गैर आवासीय नेपाली संघको कार्यक्षेत्र भित्रको बात हो? सूचना तथा जानकारी आदान प्रदान गर्दै गर्दा भोलि केही भइपरि आए, कुनै दुर्घटना हुन गए वा संदेश, सूचना तथा जानकारी गलत तवरले प्रयोग भए त्यसको उत्तरदायित्व कसमा निहित हुन्छ? कसले जिम्मा लिन्छ? 

मेरो बुझाई र विगत १८ वर्षको प्रवासी जीवनको अनुभवमा कुनै समस्या भइपरि आएमा प्रवासीहरुले ढक-ढकाउने ढोका भनेको प्रवासी साथीहरुकै हो। हालमा आएर गैर आवासीय नेपाली संघ वा संघसँग आबद्ध व्यक्तिहरुलाई जति नै गाली गरे पनि उनीहरु नै धेरै भन्दा धेरै प्रवासीहरुलाई समस्याको बेला प्रत्यक्ष सहयोग गर्न वा सहयोगको माध्यम हुन पुगेका छन्। उनीहरु प्रवासी नेपालीलाई समस्या पर्दा "go to persons" हुन पुगेका छन्। आफ्नो क्षेत्रका मतदाताहरुका लागि नेपालका सांसदहरुले गरे जस्तै।

सरकार र दूतावासले हाल गरिरहेको सूचना तथा जानकारी आदान प्रदानको हकमा, यदि भविष्यमा केही भवितव्य पर्न गए, त्यो सामना गर्नु पर्ने गैर आवासीय नेपाली संघ र तिनका अगुवाहरु नै हुने छन् भन्ने हामीलाई इतिहासले प्रष्ट सिकाई सकेको छ। आज सिड्नीमा अवतरण गर्न लागेको नेपाल एयरलाइन्सको जहाज र त्यो जहाज रित्तै नेपाल फर्कन लागेको मुद्दा यसको सानो तर राम्रो प्रतिनिधिमूलक उदाहरण हो। दूतावासले यस सम्बन्धी आफ्नो फेसबुक पेज (https://www.facebook.com/Embassy-of-NEPAL-Australia-424247651246106/) मार्फत २९ अप्रिलमा दिएको जानकारी यहाँ संलग्न गरिएको छ। कृपया आफैँ पढ्नुहोस् र मनन गर्नु होला। 

नेपाली दूतावासको सिड्नी आउन लागेको नेपाल एयरलाइन्सको फ्लाइट सम्बन्धि जानकारी 

यो फ्लाइटवाला मुद्दाबाट एउटा कुरा भने प्रस्ट देखियो - सरकार मौन, दूतावास लाचार। तर, यस मुद्दाले गर्दा अस्ट्रेलिया र न्युजिल्याण्डका प्रवासी अगुवाहरुको नीद हराम भएको छ। तिनमा गैर आवासीय नेपाली संघका साथ-साथै अरु नेपाली संघ संस्थासँग आबद्ध साथीहरु पनि हुनु हुन्छ। "त्यो फ्लाइटमा हामी किन जान नपाइने?", "लौ न पहल गरिदिनु पर्यो", "एता साह्रै समस्या भो, नेपाल नगए त बर्बादै हुने भो" - यी र यस्तै थुप्रै प्रश्न, अनुरोध तथा सिकायतहरुको व्यवस्थापन गर्नु गैर आवासीय नेपाली संघका साथ-साथै अरु नेपाली संघ संस्थासँग आबद्ध साथीहरुको एक प्रमुख काम हुन थालेको छ। र यो क्रम बढ्दै गएको देखिन्छ। 


नेपाल स्थित अस्ट्रेलियाको दूतावासले आफ्नो फेसबुक पेज मार्फत नेपाल एयरलाइन्सको फ्लाइट काठमाडौँ बाट सिड्नीको लागी उडी सकेको जानकारी गराएको छ

४. सहकार्यको मार्ग चित्र  

गैर आवासीय नेपाली संघले हाल सरकार र दूतावासको सम्बाहक हुने जुन जिम्मेवारी वहन गरिरहेको छ, त्यो निक्कै ठूलो र महत्वपूर्ण जिम्मेवारी हो। यो जिम्मेवारीको बोझले भोली कतै गैर आवासीय नेपाली संघ आफैलाई थिच्ने त होईन? गैर आवासीय नेपाली संघका अगुवा साथीहरुले एक पटक राम्ररी विचार गर्नु हुंदा उपयुक्त होला कि? सरकार, दूतावास र जन-साधारणलाई सबै प्रवासीहरुले सक्दो सहयोग गर्ने हो। हालको महामारीको अवस्थामा सहयोग गर्नु हाम्रो कर्तब्य हो, मानव धर्म हो। सहयोग गर्नु बाट हामी किञ्चित विचलित हुनु हुदैन। सबैले प्रवासमा सक्दो गरेकै छौं। अझ सके देश तिर पनि सहयोग गर्दै छौं।

अब आउदा दिनहरुमा पनि गैर आवासीय नेपाली संघ, सरकार र दूतावासले अहिले जसरि नै निरन्तर सहकार्य गरिरहने हो भने औपचारिक रुपमै लिखित कार्य विधि र प्रोटोकल बनाएर अगाडी बढ्नु पर्ने देखिन्छ। कार्य सम्पादन सहि ठिक चल्दै गरेको अवस्थामा त कुनै समस्या नहोला। तर भोली सहकार्य गर्दै जांदा कुनै अप्ठेरो अवस्था सृजना नहोला भन्न सकिन्न। त्यस्तो प्रतिकूल अवस्थामा समस्याहरु सम्बोधन गर्न उल्लेख गर्न सकिने कुनै पनि लिखित दस्तावेज रहेको वा सरोकारवाला पक्षहरु विच औपचारिक समझदारी भएको जानकारी छैन।

भोलिका दिनहरुमा गैर आवासीय नेपाली संघले महत्वपूर्ण र संबेदनशील विषयहरुमा जो कोहीसंग सहकार्य गर्दा सरोकारवालाहरु संग औपचारिक रुपमै लिखित सम्झौता गर्नु पर्ने आवश्यकतालाई संस्थागत गर्दै जानु पर्ने देखिन्छ।

(यस ब्लगमा उल्लेखित सामग्रीहरु लेखकका नितान्त व्यक्तिगत विचार र विश्लेषण हुन्)
*******

९ मई २०२०: गैर आवासीय नेपाली संघको वेबसाइटमा (https://www.nrna.org/Resources/MOUs-signed) संघले हालसम्म सरोकारवालाहरुसँग समझदारीमा हस्ताक्षर गरेका MOU हरुको प्रति हेर्न सकिन्छ।  यो ब्लगको आशय कोविड महामारी पछि संघले हालका दिनहरुमा निभाइरहेको सरकार र दूतावासको अनौपचारिक "दूत" को सम्बन्धमा लिखित रुपमै सरकार र गैर आवासीय नेपाली संघ बीच सम्झौता गर्न पर्ने देखिन्छ भन्ने तर्फ हो। कामको अपेक्षा भने औपचारिक तर व्यवहार भने अनौपचारिक पारा अलि ठिक नहोला कि?  

No comments:

Post a Comment